के सिकाउँदैछन् एमालेहरू ?



पार्टीले नेता बनाउँछ कि नेताले पार्टी ? नेतालाई बदनाम गरेर पार्टी चम्किन्छ ? ‘अफ्रिकन नेसनल कांग्रेस पार्टी’ कसको पार्टी हो ? यसको उत्तर सायद कमैले मात्र दिन सक्छन् । ‘नेल्सन मण्डेला को हो ?’ तर यसको उत्तर सबैले दिन सक्छन् । रंगभेद विरोधी आन्दोलनका नायक नेल्सन मण्डेलाले सन् २००४ मा सार्वजनिक जीवनबाट बिदा लिने घोषणा गरे । दक्षिण अफ्रिकीहरू चाहन्थे, फेरि पनि आफ्ना प्रिय माडिबा देशको राष्ट्रपति बनून् । सत्ताइस वर्ष जेल जीवन बिताएर सन् १९९४ मा पहिलो राष्ट्रपति बनेका मण्डेलाले ५ वर्षपछि राष्ट्रपति पद छोडे । त्यसपछि त्यहाँ एउटा बहस भयो, ‘पार्टीले नेता बनाउँछ कि नेताले पार्टी ?’ उनीहरू सबै सहमत थिए, ‘कि मण्डेलाले ‘अफ्रिकन नेसनल कांग्रेस’लाई बनाएका हुन् ।’ तर त्यहाँ अफ्रिकन नेसनल कांग्रेसको कारण मण्डेलाले भएको राजीतिक उचाई लिएका हुन् भन्ने शिराबाट कहिल्यै बहस भएन ।  विश्वविद्यालयको परिक्षामा कवि भूपी शेरचनको ‘हो चि मिन्हलाई चिठी’ शीर्षकको कवितालाई स–प्रसङ्ग ब्याख्या गरिरहेको हामीलाई भियतनाम वा भियतनाम कम्युनिष्ट पार्टीको बारेमा कतिलाई थाहा छ ? सायद कमैलाई, तर कमरेड हो चि मिन्हको बारेमा धेरैले थाहा पाएका छन् । 

लेनिनवादको नारा लगाउनेहरूलाई रूसको बोल्सेभिक पार्टीको बारेमा कति थाहा छ ? सायद कमैलाई होला ? तर, लेनिनलाई नपढेका कमै छन् । क्युबाको कम्युनिष्ट पार्टीको बारेमा थाहा नहुनेहरूले पनि क्युबाली कम्युनिष्ट फिडेल क्यास्त्रोका बारेमा थाहा पाएका छन् । पेरूको साइनिङ पथ मेटिसक्दा पनि क. गोन्जालोका बारेमा आज पनि मान्छेहरूले पढी नै रहेका छन् । माओको गाथा पछि मात्रै चिनियाँ क्रान्तिको कथा पढिन्छन् । नेल्सन मण्डेला, माओ वा फिडेलको पुरानो कथा मात्रै होइन आज पनि उही प्रसङ्ग हो । अमेरिकी राष्ट्रपति बाराक ओबामा नाम धेरैले कण्ठ गरेको छन्, तर उनको पार्टीको बारेमा कमैले पढेका छन् । अपवाद बाहेक पार्टीले होइन पार्टीलाई नेताले दौडाएका हुन्छन् । इतिहासको रथ कुनै पार्टी झन्डा भन्दा बढी, पार्टीका नेताले डण्डाले हाँकेका छन् । 

विश्वका ठूला परिर्वतनका सारथी कुनै न कुनै नेता नै हुन्, तर के ती नेताहरू आफ्नै बलको तागतले त्यहाँ पुगेका हुन् त ? कदापि होइनन् । तिनलाई माथि पुराउन हजारौँ–हजार तलै बसेका छन् । ती नेताहरू, जसलाई सधैँ ‘महान’ मानेर उनका सहयोगीहरूले सहयोग गरे । आज सुनिने, पढिने नेल्सन मण्डेला, लेनिन, माओ वा फिडेल जो केहीको नाम विश्वभर चम्काउन उनका सहकर्मीहरूले धेरै कालोहरू सफा गरीदिएका हुन् । होलान्, यी नेताहरूले उतिधेरै गल्ती गरेनन्, तर गल्ती गरेको भए पनि उनका सहकर्मीहरूले त्यसलाई आधार बनाएर कहिल्यै खुइल्याउने अभियानमा लागेनन् । आफ्ना नेताको नामलाई बदनाम गर्ने गरी कुनै काम गरेनन् । सकेसम्म उनीहरूले आफ्ना नेताको देवत्वकरण गरे । तिनका सकारात्मक विचार र व्यवहारको बारेमा सकेसम्म सबैलाई थाहा दिन प्रयत्न गरे । त्यही भएर आज यी नामहरू आन्दोलन भएका हुन् । ती व्यक्तिहरू आज संस्था बन्न सकेका हुन् । नेपाली नेताको दुर्भाग्य आज नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी एमाले नवाँै महाधिवेशनको संघारमा छ । पार्टीको नीतिको सन्दर्भमा सबै एकै ठाउँमा आइसके । फरक यति हो, कुनै नेता वा गुट दौडेर आए होला, कोही लतारिएर आए होलान् । अब नेतृत्व चयनको प्राविधिक कर्मकाण्ड बाँकी छ, तर यो कर्मकाण्डको लागि एमालेहरू दुई समूहमा उभिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले एउटा समूह र संसदीय दलका नेता केपी ओलीले अर्को समूहको नेतृत्व गरेका छन् । यी दुई नाम एमालेइतरकालाई जस्तो लागे पनि एमालेहरूको लागि दुवै आन्दोलनका नाम हुन् । आजको एमाले निर्माणमा यी दुवै नेताको भुमिका छ । कसको बढी ? त्यो इतिहासलाई छोडी दिउँ । यी दुई नेतालाई यो स्थानसम्म लैजान पनि हजारौँ एमालेजनहरूले आजसम्म धेरै रगत र पसिना बगाएका छन् । पृथ्वीनारायण शाहले भनेजस्तै, ‘कम दुःखले आज्र्याको नेता होइन’ एमाले आन्दोलनमा यी दुवै नेताका अलग–अलग बिम्ब बनेका छन्; दुवै नेताप्रतिको आस्था पनि । कम्युनिष्ट पार्टीको महाधिवेशनले नेतृत्वलाई अझ चम्काउने हो । यी दुवै नेताहरूलाई अहिले चम्काउने समय हो, तर दुर्भाग्य चम्काउने होइन खुइल्याउने अभियान यस्तरी चलिरहेको छ कि एकले अर्काको बदनाम नगरे चुनाव जितिन्न । स्वाभाविक हो, महाधिबेशनमा उत्कृष्टताको खोजी हुन्छ । एमालेजनले पनि गर्नुपर्छ । तर, कुनै नेतालाई उत्कृष्ट बनाउँने नाममा कुनै नेता माथि निकृष्ट आरोप, भत्र्सना र खण्डन मण्डन राजनैतिक संस्कार होइन । अहिले एमाले भित्र जुनस्तरको आरोप र भत्र्सनाहरु भईरहेका छन्, त्यो हदसम्म त आजसम्म कुनै बुर्जुवा पार्टीले समेत गरेको छैन ।


 नेताहरू दुवैतिरका कार्यकर्ताहरूको अपसंस्कृतिको शिकार बन्दैछन् । अहिले नेपाल गुटकाहरूले यस कारण नेपाल राम्रो भन्ने तर्क नगरेर यस कारण ओली खराब भन्ने नारा लगाएर हिँडेका छन् । ओली गुटकाले यस कारण केपी ओली उत्तम भन्ने तर्क नगरेर यस कारण नेपाल झुर भन्ने गीत गाएका छन् । यसबेला एमालेजनहरू नेपालले गरेका राम्रा कामहरूलाई प्रचारमा गर्नेतिर होइन ‘राजालाई दाम चढाएको’ प्रसङ्ग प्रचार गरिरहेका छन् । ओलीले गरेका योगदानको बखान गर्नेतिर होइन ‘गोरूगाडा चढेर अमेरिका नपुगिने’ किस्सा जोडिरहेका छन् । नेपाल पक्ष तर्क यस्तो छ, ‘मानाँै दुनियाँमा ओली जस्तो खराब नेता कोही छैनन् ।’ ओली पक्षको तर्क यस्तो छ, ‘मानाँै दुनियाँमा माधव जतिको बदनाम नेता कोही छैनन् ।’ सकेसम्म कार्यकर्ताहरूले त आफ्नो पार्टीको नेतालाई अरू पार्टीको नेता भन्दा अब्बल देखाउन नेताको देवत्वकरण नै गर्ने हो, तर अहिले एमालेजनहरूले आफ्ना नेताको यस्तरी दानवीकरण अभियान चलाइरहेका छन्, मानौँ कि, जो अभियानमा छैन, ऊ त एमाले नै होइन । माधव नेपाललाई बदनाम बनाएर एमालेको नाम चम्किन्छ ? केपी ओलीलाई खुइल्याएर एमाले उज्यालिन्छ ? यी दुवै नेताको क्षयीकरण एमालेको क्षयीकरण हो भन्ने सामन्य ज्ञान समेत एमालेजनमा देखिएन । शिशिर योगीले एउटा गीत गाएका छन्, ‘यो देशमा म एउटा मानिस खोजिरहेछु ।’ हो, यतिबेला पार्टीलाई मात्रै होइन देशलाई नै योग्यतम् एउटा नेताको आवश्यकता खट्किरहेको छ । एमालेहरूले त्यही देशले खोजिरहेको नेता निर्माण गर्नु पर्ने बेला हो, तर दुर्भाग्य एमालेहरू भएकालाई सक्ने अभियानमा छन् । नेपाली समाजको एउटा भिन्न विशेषता हो, नराम्रोको खोजी । नेपाली समाजको एउटा खुशी समाजमा स्थापित आदर्श पात्रहरूलाई सिध्याउनु पनि हो । हामी आफैले बनाएका धेरै आदर्श पात्रहरूलाई छिनभरैमा धुलीसात् बनाएका घटनाहरू छन् । हामी कहाँ राम्रोको होइन, नराम्रोको खोजी गर्ने मनोविज्ञान संस्कारको रूपमा विकास भएको छ । यसपालि यसमा एमालेका नेता तथा कार्यकर्ता अब्बल देखिएका छन् । पार्टी निर्माण पहिलो शर्त हो, तर पार्टी निर्माणसँगै स्थापित नेताहरूलाई सिध्याउँदै जाने हो भने त्यसको कुनै अर्थ रहँदैन । भर्खरै भारतमा भएको निर्वाचनको घटना पनि उही उदाहरण हो । 


निर्वाचनपछि भारतीय सञ्चारमाध्यमहरूले लेखे, ‘यो जित भारतीय जनता पार्टीको होइन, नरेन्द्र मोदीको होे ।’ भारतको निर्वाचनमा पार्टीको कम नेताको बढी प्रभाव देखियो । अमेरिका, युरोपहरूमा पनि कुरो उही हो । निर्वाचनमा पार्टीको भन्दा बढी नेताको प्रभाव देखिन्छ । यो वा त्यो कोणबाट अब्बल नेता निर्माणमा लागेका हुन्छन्, तर यहाँ कुनै नेताले समाजमा केही असल अभियान सुरू ग¥यो भने उनलाई सिध्याउने अभियान सुरू भइहाल्छ । अन्य देशमा नेताको सधँै उत्कृष्टता खोजी र आशाको प्रचार हुन्छ, तर यहाँ हामीकहाँ नेताहरूको उत्कृष्टता होइन निकृष्टताको खोजी र निराशाको प्रचार हुन्छ । अति सामान्य मानिसहरूको एउटा ‘डाइलग’ हुन्छ, ‘तपाईं पनि नेता जस्तै खराब त नहुनु है ।’ 

यो ‘डाइलग’ निकृष्टताको खोजी र निराशा प्रचारको उपलब्धि हो । मदन भण्डारी र विपीको खोजी ? एमालेले मदन भण्डारी र कांग्रेसले विपीलाई सबैभन्दा ठूला घरेलु नेता मान्छन् । नेताहरूले भाषण गर्दा होस् या आलेख तयार पार्दा यी दुवै नेताको विचार उद्धृत गर्दै लेख्छन् । नेपाली समाज अहिले मात्रै होइन उति बेला पनि नकारात्मकताको नै खोजी नै थियो । एउटा प्रश्न काल्पनिक उठ्न सक्छ, ‘उति बेला मदन र विपीको दानवीकरणमा किन भएन ?’ उत्तर सहज छ, ‘किनभने यी दुवै नेता लामो समय खुल्ला राजनीतिमा रहन पाएनन् ।’ मदन भण्डारी खुला राजनीतिमा आएको केही समयमा मारिए । 

विपीले जेल र प्रवाशमा समय बिताउनु बाध्य थिए । विपी र मदन लामो समय खुला राजनीति भएको भए यस्तो हुन्थ्यो भन्नु वस्तुवादी त हुँदैन, तर एउटा सहज अनुमान गर्न सकिन्छ, यी नेताहरू पनि निकृष्टताको खोजी र निराशाको प्रचारको शिकार अवश्य बन्ने थिए । अर्को मदन भण्डारीलाई जननेता मदन भण्डारी एमालेले नै बनाएको हो । अर्कोतिर आजको एमाले बनाउने मदन भण्डारी हो, किनभने उनले नै प्रतिपादन गरेको सिद्धान्तलाई आज एमालले आफ्नो मार्गदर्शक सिद्धान्त बनाएको छ । यही विचारले धेरैलाई एमालेमा आकर्षित गरेको छ । एमालेले हिजो मदन जस्ता नेता बनायो । 

मदनले एमाले बनाए । अब समाज नयाँ चरणमा आइपुगेको छ । मदनले प्रतिपादन गरेको सिद्धान्तको आलोकमा आफूलाई उत्कृष्ट बनाएर समाज परिर्वनको नेतृत्व गर्नका लागि एमालेले नीति र नेतृत्व चयन गर्ने हो । यसको लागि पार्टी निर्माणसँगै उत्कृष्ट नेता निर्माण पनि गर्ने हो । नेल्सन मण्डेला, लेनिन, माओ वा फिडेल जस्ता नेताहरू बनाउने अभ्यासमा लाग्ने हो, तर अहिले भएका नेताहरू तिनीहरूलाई पनि समाजको नजरमा बदनाम गर्ने काममा स्वयम् एमालेहरू लागेका छन् । यदुवंशी तरिकाले एकले अर्कालाई सिध्याउने गुटहरूको अभियान चलिरहे एमालेको आफ्नो अभियान बन्द हुने दिन आउन सक्छ । kulung.rajesh@gmail.com

Comments

Popular posts from this blog

कसले बनायो हङकङ?

एक धार्नी मासु र एक मानो नुन

दोहोरीमा विसर्जित बिरङ्गनाको सपना