दोहोरीमा विसर्जित बिरङ्गनाको सपना




राजेश राई

०५९ कात्तिक महिनाको दोस्रो साता । भोजपुरको दोभानेस्थित सालेवा माविमा कक्षा नौमा पढ्दै छु ।  दसैँको बिदा । विज्ञानका नियम र गणितका सूत्रहरू घोकेर स्कुल जानुपर्ने कष्टबाट मुक्त छु यतिबेला । तर, शान्त छैन मन । चिन्ता छ, ‘सेनाले बम खसालेर अकालमै मरिने पो हो कि ?’ किनभने, माओवादी जनयुद्धको सिलिचुङ आधार इलाकाको मध्य भाग मानिएको खाटाम्मामा छ मेरो घर । यो क्षेत्रलाई माओवादीले पूर्वको सुरक्षित सेल्टरको रूपमा प्रयोग गर्दै आएका छन् । एफएमले समाचारमा भन्छ, ‘रोल्पाको अति सुरक्षित मानिएका माओवादी सेल्टरमा समेत शाही सेनाले आक्रमण गरेको छ, त्यहाँ सर्वसाधरणसमेत मारिएका छन् ।’ ओहो ! त्यही घटना यहाँ पनि दोहोरियो भने सायद हामी पनि ज्युँदो रहने छैनौँ । मेरो घरमा कहिले माओवादी सेना आएर बस्छन्, कहिले ठूला नेता । १५/१६ जना माओवादी कलाकार बसेका छन् यसपालि ।

 कोही नाच्नमा पारङ्गत कोही गाउनमा त कोही बजाउनमा । सबै एक से एक ।  तर, सबैभन्दा बढी मेरो ध्यान क. बिरङ्गनाले तानिरहेकी छे । क. बिरङ्गना नाच्न र गाउन दुवैमा ‘परफेक्ट’ छिन् । अनुहार पनि उस्तै सुन्दर । फिल्मकी सुन्दर हिरोइन जस्ती । किन हो ? क. बिरङ्गना आएदेखि मेरो पछि लागिरहेकी छे । उनी हरेक दिन मलाई भनिरहन्छिन्, ‘तपाईं जस्तो युवा क्रान्तिमा लाग्नुपर्छ ।’ उनका लागि सधैँ मेरो ‘रेडिमेड’ उत्तर हुन्थ्यो, ‘मैले केही फटाहीँ गरेको छैन, म किन लाग्ने ?’  त्यो मेरो कुनै पूर्वाग्रही उत्तर थिएन । किनभने, मेरो गाउँका जो-जो माओवादी भए, उनीहरू केही न केही नराम्रो गरेर मात्रै भएका थिए । कमरेड बनेपछि कारबाहीबाट मुक्त भइन्थ्यो उबेला । नौ कक्षामा पढ्ने म ‘बबुरो’ले पनि त्यसरी बुझेको थिएँ माओवादीलाई । एक हप्तापछि सेल्टर परिर्वतन हुनेभयो । उनीहरू डिलखर्क सेल्टरमा जाने भए । हाम्रो घर छाड्ने दिन बिरङ्गनाले मलाई यस्तरी फकाउन थालिन्, मानौँ ‘म उनीहरूसँग गए क्रान्ति पूरा हुन्छ । र, एकाएक दुनियाँका दुःख ढलेर जान्छन् ।’ तर, छुट्नेबेला पनि उनका लागि मेरो उही उत्तर थियो, ‘मैले केही फटाहीँ गरेको छैन, म किन जाने ?’ मेरो उत्तर परिर्वतन नभएपछि हिँड्नेबेला उनले भनिन्,’तपाईं माटोका लागि भार, यस्तो जिन्दगी के बाँच्नु हुन्छ ।’ ‘जो माओवादी हुँदैन, त्यो त मान्छे नै होइन’ उनको बुझाइ थियो । मानौँ, माओवादीबाहेक अरूहरूको कुनै सपना नै हुँदैन र जिन्दगीको कुनै मूल्य पनि । सुन्दर सपना देख्नेहरू यो धर्तीमा कोही छन् भने उनीहरू माओवादी मात्रै हुन् । क. बिरङ्गनासँग त्यसपछि दुईपटक भेट भयो । तर, उनको सपना र प्रतिबद्धता उस्तै थियो । यस्तो लाग्थ्यो, ‘प्रचण्डले उनीहरूलाई कुन त्यस्तो नशा खुवाइदियो, जसले उनीहरू एकोहोरो यसरी लागेका छन् ।’ 

उनी दृढ थिइन्, ‘सबै मान्छेका खुस र सुखका लागि लडिरहेकी छु म । अब चाँडै, मान्छेका सबै दुःख एकाएक ढलेर जादैँछ, । र, सुन्दर संसार बन्दैछ ।’ आहा ! कति सुन्दर सपना र दृढ विश्वास थियो उनको । ००० ०६८ माघ १ । धरानबाट दाइहरू काठमाडौँ आउनुभएको छ । खाना खाइसकेपछि रमेश दाइले नयाँ प्रस्ताव गर्नुभयो, ‘आज त धित मरुन्जेल दोहोरीे गाउनुपर्छ ।’ अरू प्रयोजनका लागि होइन गाउन र नाच्नका लागि दोहोरी जाने गर्नुहुन्छ दाइहरू । बेलुका करिब ८ बजिसकेको छ । ठमेल आˆनै धुनमा व्यस्त थियो ।  ठमेल छिचोलेर नयाँ बसपार्कअघिको एउटा दोहोरी साँझमा छिर्‍यौँ हामी । माघे सङ्क्रान्ति । सबै मदिरामा मस्त । दोहोरी साँझको स्टेजमा कलाकारहरू गाउँदै थिए, ‘खैरेनीमा गेट…’  । दोहोरी साँझमा गाइने उस्तै भए पनि व्यवहारमा चाहिँ ‘आमूल परिर्वतन’ भएछ । मदिरामा मस्त ग्राहकले सेवामा खटिएका महिलालाई गरेको व्यवहार देख्दा यस्तो लाग्थ्यो, ‘यो दोहोरी साँझ होइन कुनै रेड लाइट एरिया हो ।’ करिब १५ मिनेटपछि मदिराले मस्त मान्छेहरूको दुव्र्यवहार छिचोल्दै स्टेजमा एउटी गायिका हाम्रो छेउमा आएर बसिन् । 

दाइहरूसँग पुरानो चिनजान रहेछ उनको । दाइहरूसँग लामो गफ गरेर फेरि स्टेजमा फर्किइन् । के-के गफ भयो ? मलाई पत्तै भएन, किनभने मेरो ध्यान स्टेजतिरको नाचगानमा  थियो । जानेबेला मलाई पनि चिनेजस्तै गरी हाँसिन् । ‘मलाई कताकता देखेजस्तो लाग्यो, यी केटी को हो ?’ ‘देखेको होला’ मेरो प्रश्नमा रमेश दाइको उत्तर थियो, ‘ माओवादी कलाकार बिरङ्गना हुन् यिनी ।’ ओहो  तिनै क. बिरङ्गना दोहोरी साँझमा ? यो त मेरा लागि कल्पनाबाहिरको विषय थियो । मलाई कहिल्यै लागेको थिएन कि ती ‘क्रान्तिकारी कलाकार’ यस्तो दुव्र्यवहार सहेर ‘खैरनीमा गेट…’ गाउँछिन् । मैले ‘कन्र्फम’ गर्न दाइको फोर्स लगाएर फेरि उनलाई बोलाएँ । आखिर उनै क. बिरङ्गना रहिछन् । ‘मलाई चिन्नुभयो ?’ ‘अ, कता देखेजस्तो लाग्यो,’ उनको उत्तर थियो । मैले उनलाई ‘क्लु’ दिएँ, ‘तपाईंको भाषामा म माटोको भार हुँ, कुनै दिन मलाई तपाईंले त्यसै भन्नुभएको थियो ।’ उनले पुरानो स्मृति खुट्याउन सकिनन् ।  मैले फटाफट भनिदिएँ । त्यसपछि उनी मबाट पन्छिन खोजिन् । उनी माओवादी जनयुद्धको एउटा विम्ब थिइन् मेरा लागि । यस्तो लाग्थ्यो,  ‘क. बिरङ्गनाजस्ता निश्चल सपना बोकेका मान्छे पनि थिए ‘जनयुद्ध’ मा ।’ कस्तो दुर्घटना  ‘जनयुद्ध’को मेरो एउटा सुन्दर विम्ब ढल्यो । मैले सोध्न खोजेँ  ०५९ सालतिर उनले देखेको त्यो सुन्दर सपना र उनले जनाएका ती भव्य प्रतिबद्धताको विषयमा । ‘यस्तो कुरा छाड्नुहोस् अब,’ उनले मलाई टार्न खोजिन् । उनी भन्दै थिइन्, ‘अहिले पनि पार्टी छाडेको भने छैन । पार्टीले खानाभन्दा अरू केही दिँदैन । खाएर मात्रै हुँदैन, केही काम पनि गरौँँ भनेर दोहोरी आएकी हुँ ।’ ‘तपाईंको बारेमा लेख्छु एउटा फोटो खिचुँ,’ मैले अनुमति लिन खोजँे । उनले घोर निराशा व्यक्त गरिन्, ‘तपाईंले लेख्दैमा हुन्छ के ? हामीले त्यतिका वर्ष लडेर त भएन ।’ 

म अझ कुरा गर्न चाहन्थेँ, तर उनी रिसाएर गइन्, ‘सपनाजपना मेरो केही छैन हुनेलाई सोध्नुहोस् ।’ संयोग कस्तो  ०५९ मा पनि मेरो घरबाट रिसाएरै गएकी थिइन् उनी । उनले त्यसबेला भनेकी थिइन्, ‘क्रान्तिमा नलाग्ने मान्छे माटोको भार हो ।’ उनले आज भनिन्, ‘लेख्दैमा के हुन्छ, लडेर त केही भएन ।’ विख्यात रूसी साहित्यकार म्याक्सिम गोर्की भन्छन्, ‘मान्छेको हत्या गर्नुभन्दा सपना देखाएर फेरि सपनाकै हत्या गरिदिनु खराब हो, झूटा सपना देख्नेभन्दा देखाउने खराब हुन् ।’ गोर्कीको भनाइलाई आधार मान्ने हो भने, ‘सपना देख्ने क. बिरङ्गना होइन देखाउने प्रचण्डहरू चाहिँ खराब हुन् ।’ प्रचण्डहरूको सानदार रूपान्तरण र क. बिरङ्गनाहरूको सपनाको भव्य विसर्जन जारी छ यतिबेला । भनिन्छ, ‘सपनाहरूको सही व्यवस्थापन भएन र विस्फोट भयो भने मान्छे पागल हुन्छन् ।’ ठीक यतिखेर धेरै सपना विस्फोटनका सङ्घारमा छन् । सबैका सपना यसरी विसर्जित भए भने प्रचण्डहरूको पुनर्गठन सहज छ तर विस्फोट भयो भने प्रचण्डहरूको विघटन अवश्यम्भावी छ । कि त सपनाको पछि नै लतारिनु पर्नेछ प्रचण्डहरू । - 

Comments

Popular posts from this blog

कसले बनायो हङकङ?

एक धार्नी मासु र एक मानो नुन